परिक्षण गरिएका एकिकृत बाली पद्धति र प्रविधिहरु ( Integrated and Applied technology)

नेपालको भौगोलिक तथा वातावरणीय बनावट (तराई, भित्री मधेश, मध्यपहाड र उच्च हिमालय) भारतीय कृषि-पारिस्थितिक क्षेत्रहरूसँग मिल्दोजुल्दो छ। नेपालमा फलफूल, तरकारी तथा पुष्प व्यवसायमा अझै पनि परम्परागत शैली, व्यावसायिक ज्ञानको कमी, जलवायु परिवर्तनको असर र फसल पछिको क्षति (Post-harvest loss) प्रमुख समस्याका रूपमा रहेका छन्। भारतीय कृषि अनुसन्धान परिषद (ICAR) को यस प्रकाशनबाट प्राप्त यी ५० वटा आधुनिक तथा व्यावहारिक प्रविधिहरू नेपाली किसानका लागि उपयोगी हुन सक्छन् ।

१. परम्परागत खेतीबाट उच्च मूल्य जाने बालीहरूमा विविधीकरण:

(जस्तै: कम चिस्यान चाहिने स्याउ, काठमाडौँ/पहाडी क्षेत्रमा किवी, म्याकाडामिया नट, कालो जिरा)।

२. जलवायु जोखिम न्यूनीकरण: (माइक्रो-स्प्रिंकलर, फलफूलमा झोला बाध्ने/बैगिङ, प्लास्टिक मल्चिङ)।

३. प्रति इकाइ आम्दानीमा वृद्धि: (बहुबाली, अन्तरबाली तथा खाली जमिनको सदुपयोग)।

४. दीर्घकालीन दिगोपन र महिला सशक्तीकरण: (जैविक विषादी, नर्सरी व्यवस्थापन र खाद्य प्रशोधन)।

अभ्यासहरू

(क) फलफूल खेती सम्बन्धी आधुनिक अभ्यासहरू

१. तराई र भित्रि मधेसमा कम चिस्यान चाहिने स्याउ खेती:- २५०-३०० घण्टा मात्र चिस्यान (Cooling hours) चाहिने स्याउका जातहरू (जस्तै: Anna, Dorsett Golden) तराई तथा पहाडका बेसीहरूमा लगाउन सकिने।

२. परागकण दिने प्रजाति (Pollinators) को अनिवार्य व्यवस्था गर्ने जस्तै : 'अन्ना' जस्ता भाले/पोथी स्वयं-बन्ध्य (Self-sterile) स्याउको बगैँचामा २०% 'ईडीमयल वा गोल्डेन डेलिसियस' जातका बोट निश्चित दुरीमा लगाउनु पर्ने।

३. कलमी जोड (Graft Union) माटोमा नपुर्ने: बिरुवा रोप्दा रुटस्टक र सांकुरको जोडिएको भाग (Graft union) सधैँ माटोभन्दा माथि राख्नुपर्छ।

४. जाडोमा पात झर्ने प्रकृया यो नियमित र बोटलाइ बचाउन हुने गर्छ : हिउँदमा स्याउका ६०% पात झर्नु स्वाभाविक शारीरिक प्रक्रिया हो, यसलाई रोग सम्झेर विषादी हाल्नु पर्दैन।

५. वर्षा अधि नै फल टिपाइ: फल कुहिने जन्य ढुसिजन्य रोगबाट बचाउन वर्षायाम सुरु हुनुभन्दा अगावै परिपक्व फल टिपिसक्नु पर्छ।

६. लीचीको झुप्पामा झोला बाँध्ने (Bagging): फल लागेको २५-३० दिनपछि सेतो नन-वोभेन पोलिप्रोपाइलिन झोलाले लीचीको झुप्पा ढाक्दा फल फुट्न र घामले डढ्नबाट जोगिन्छ।

७. लीचीको बोटमुनि माइक्रो-स्प्रिंकलरको प्रयोग: फल बढ्ने समयमा सूक्ष्म सिँचाइ (Micro-sprinkler) प्रयोग गरी बगैँचामा आद्रता ५०% भन्दा माथि राख्ने।

८. स्यालिसिलिक एसिड (Salicylic Acid) को छर्कने: लिचिमा फल लागेको ३५-४० दिनपछि ५० ppm (५० मिलीग्राम प्रति लिटर) का दरले स्यालिसिलिक एसिड छर्कँदा फल फुट्ने समस्या कम हुन्छ।

९. समुद्री झारको अर्क (Bio-stimulants) को प्रयोग: अत्यधिक गर्मी र खडेरीको तनाव सहन ०.५% का दरले 'सागरिका' वा जैविक उत्पेरक पर्णीय छर्कने।

१०. लीचीको पातको मल्चिङ: बोटबाट खसेका पातहरूलाई फेदमै ओछ्याएर माटोको चिस्यान जोगाउने र तापक्रम नियन्त्रण गर्ने।

११. हावा रोक्ने पर्खाल (Windbreaks): उत्तर-पश्चिम दिशाबाट चल्ने तातो हावा (लू) बाट बचाउन बगैँचाको डिलमा सदाबहार अग्ला बोट रोप्ने।

१२. बोरेक्स र क्याल्सियमको प्रयोग: फल फुट्न र खस्न नदिन बोरेक्स (१०० ग्राम प्रति बोट माटोमा) वा क्याल्सियम क्लोराइड (४-५ ग्राम/लिटर) + बोरेक्स (४ ग्राम/लिटर) छर्कने।

१३. किवी फलको वैज्ञानिक ढाँचा र भाले-पोथी अनुपात: T-bar वा Pergola प्रणाली प्रयोग गरी १:८ वा १:९ को अनुपातमा भाले र पोथी बोट रोप्ने।

१४. नाइट्रोजन मलको दोहोरो प्रयोग: किवीमा पहिलो आधा नाइट्रोजन जनबरी-फेब्रुअरी र बाँकी आधा फल लागेपछि (वैशाख/जेठ) दिने।
१५. मध्यपहाडमा म्याकाडामिया नट (Macadamia Nut) खेती: भिरालो र खुकुलो खैरो माटो (pH 5.5-7.5) मा उच्च मूल्य दिने म्याकाडामिया नटको व्यावसायिक खेती गर्ने। यो बालीको पातमा काँडा हुने र फल पनि अति नै साह्रो भएकाले बाँदर लाग्ने क्षेत्रका लागि यो बाली अति नै राम्रो पाईएको छ । साथै यसको बजारमुल्य पनि अति नै राम्रो छ । (७00-१००० रु/केजि)

१६. मिनी र माइक्रो-ग्राफ्टिङ प्रविधि: परम्परागत २४ महिना लाग्ने कलमीको साटो मिनी/माइक्रो ग्राफ्टिङबाट ८-१२ महिनामै बोट तयार पार्ने।

१७. अङ्गुर/नटमा 'सेन्ट्रल लिडर' काँटछाँट: बोटको काण्डलाई बलियो बनाउन हरेक आधा मिटरको दुरीमा

मुख्य र सहायक हाँगाको काँटछाँट (Frame Pruning) गर्ने।

१८. बेल (Bael) को फल डाँठसहित काट्ने: बेलको फल रूख हल्लाएर खसाल्नुको साटो सिकेचरले २ से.मी. डाँठ राखी काट्ने जसले गर्दा डाँठ कुहिने रोग लाग्दैन।

(ख) जडीबुटी, मसला, तरकारी र फूल खेती

१९. स्याउ बगैँचाभित्र तरकारीखेती जस्तै मूला रायो झ्यांगे सिमि काउली बन्दा लाइ स्याउको बोटमुनि अन्तरबालीका रूपमा रोप्ने।

२४. सजावटी र खानेयोग्य तरकारी-फूलको गुच्छा (Bouquet): ब्रोकाउली, रोमानेस्को काउली, मूला, रङ्गीन सिमला मिर्च र फूलहरू मिलाएर जैविक र आकर्षक गुलदस्ता बनाउने।

२५. तरकारीका खानेयोग्य फूलहरूको बजारीकरण: पाकेको फर्सीका पहेँला फूल, भिन्डीका फूल र सिमीका फूलहरूलाई तरकारी र सजावटका लागि बिक्री गर्ने।

२६. सङ्गी खेती (Companion Planting): तरकारीबारीमा सयपत्री, जिरा, र एलिसम जस्ता फूल रोप्दा मित्रजीव आकर्षित भई हानिकारक कीरा नियन्त्रण हुन्छन्।

२७. बहुबालीमा पर्याप्त दुरी: फूल र तरकारी सँगै रोप्दा प्रकाश, जल र पोषक तत्त्वको प्रतिस्पर्धा नहोस् भनी पर्याप्त दुरी राख्ने।

(ग) उन्नत नर्सरी तथा बिरुवा प्रसार

२८. वर्षायाममा अग्लो नर्सरी ब्याड (Raised Bed): वर्षामा १०-१५ से.मी. अग्लो र हिउँद वा गर्मीमा समतल ब्याड बनाउने।

२९. फर्मल्डिहाइड (Formaldehyde) द्वारा माटो उपचार: बीउ रोप्नु १५-२० दिन अघि ४% फर्मल्डिहाइड (४ लिटर/वर्ग मिटर) ले माटो भिजाएर कालो प्लास्टिकले ढाक्ने।

३०. ग्यास निष्कासन (Degassing): माटो उपचारको ४-५ दिनपछि प्लास्टिक हटाई रोप्नु ३ दिन अघि हल्का खनजोत गरी ग्यास उड्न दिने।

३१. लाइनमा बीउ रोप्ने अभ्यास: नर्सरीमा छरेर बीउ रोप्नुको साटो १.५-२ से.मी. गहिरो र ५-७ से.मी. को दुरीमा लाइन बनाएर रोप्ने।

३२. बिरुवाको जर्खर्याउने (Hardening): बेर्ना सार्नु ४-५ दिन अघि पानी रोक्ने र कडा घाममा राखेर प्रतिकूल मौसम सहनसक्ने बनाउने।

३३. सुप्त कोपिलाको हिम परिरक्षण (Cryopreservation): ओखर, बदाम जस्ता समशीतोष्ण फलफूलका कोपिलालाई माइनस १९६ डिग्री सेल्सियस लिक्विड नाइट्रोजनमा वर्षौँसम्म सुरक्षित राख्ने।

३४. पुनर्जलीकरण (Rehydration) प्रक्रिया: क्रायोप्रेजर्भ गरिएका कोपिलालाई सीधै प्रयोग नगरी ओसिलो झ्याउ (Moss grass) मा राखेर ब्युँझाउने।

३५. बेर्ना उखेल्नु अघि सिँचाइ: उखेल्नु २४ घण्टा अघि नर्सरीमा टम्म पानी हाल्दा जरा नभत्किई सजिलै बेर्ना निस्कन्छ।३६. साँझपख बेर्ना रोप्ने: मुख्य खेतमा बेर्ना सधैँ साँझपख सार्ने र लगत्तै हल्का सिँचाइ दिने।(घ) माटोको उर्वराशक्ति, सूक्ष्म तत्त्व र रोग नियन्त्रण

३७. पातको पहेंलोपनाबाट तत्त्व चिन्नु: नयाँ पातको नसाको बीचमा पहेंलो हुनु फलाम (Fe) वा म्यांगनिज (Mn) को कमी हो भने पुराना पात पहेंलो हुनु नाइट्रोजनको कमी हो।


३८. म्यांगनिज सल्फेटको छर्कने: काउली र धनियाँमा म्यांगनिजको कमी देखिएमा ०.२-०.५% म्यांगनिज सल्फेट हप्ताको एकपटक घाम लागेको दिन छर्कने।

३९. फलाम (Iron) को कमीको पहिचान: माटोमा तामा वा फस्फोरस बढी हुँदा नयाँ पात सेतो/पहेंलो हुन्छ, जसलाई ०.२-०.५% फेरस सल्फेटले सच्याउन सकिन्छ।

४०. सल्फर र नाइट्रोजनको भिन्नता: केराउ र खुर्सानीमा माथिल्ला नयाँ पात पहेंलो हुनु सल्फरको कमी हो; यसका लागि युरियाको साटो जिप्सम (५०-१०० केजी/एकर) वा single superphosphate (SSP) हाल्ने। (1 एकर=8 रोपनी हुन्छ) ।

४१. पातको तल्लो भाग बैजनी हुनु: हिउँदमा काउली वर्गका बालीमा पातको तल्लो भाग बैजनी हुनु चिसोले गर्दा फस्फोरस नपाउनु हो, यसका लागि माटोमा फस्फोरस मल दिने।

४२. क्षारिय माटोमा बेल खेती: pH १० सम्म भएको बाँझो, क्षारीय वा बलौटो माटोमा बेल खेती गरी उच्च आम्दानी लिन सकिन्छ

४३. बेर्ना कुहिने रोग (Damping-off) को जैविक नियन्त्रण: नर्सरीमा बेर्ना कुहिने रोग रोक्न रासायनिक विषादीको साटो ट्राईकोडर्मा (Trichoderma - ५ ग्राम/लिटर) प्रयोग गर्न सकिन्छ ।

४४. ब्याक्टेरियल क्याङ्करमा स्ट्रेप्टोसाइक्लिन: फलफूलमा ब्याक्टेरियाबाट हुने खटिरा र कुहिने रोग रोक्न १५-१५ दिनमा स्ट्रेप्टोसाइक्लिन (200 ppm) छर्कने।

(ङ) फलफूल तथा तरकारी प्रशोधन, मूल्य अभिवृद्धि र महिला सशक्तीकरण

४५. फोहोरबाट सौन्दर्य सामग्री र दाना बनाउने: फलफूल र तरकारीको बोक्रा, गुदी र बीउबाट अनुहारमा लगाउने उबटन (Face pack), लिप बाम, फाइबर बिस्कुट र पशु आहार बनाउने।

४६. फ्रिज-ड्राइड (Freeze-dried) प्रविधि: बजारमा बढी भएर फालिने तरकारी र फलफूललाई सुकाएर, जुस कन्सन्ट्रेट वा स्प्रे-ड्राइड पाउडर बनाई धेरै समय सुरक्षित राख्ने।

४७. कोदो तथा फापरको मूल्य अभिवृद्धि: महिला समूहहरूमार्फत कोदो, जुनेलो र फापरबाट मल्टीग्रेन पिठो, कुकिज, चाउचाउ र पास्ता बनाई बिक्री गर्ने।

४८. बेलको च्याप (Mucilage) को औद्योगिक प्रयोग: बेलको बीउ वरिपरि हुने लसपसाउने पदार्थलाई वाटरप्रूफ गम वा प्राकृतिक टाँस्ने पदार्थका रूपमा प्रयोग गर्ने।

४९. माछाको तेलको साटो भाङजिराको तेल: ओमेगा-३ ले भरपूर १००% शाकाहारी भाङजिराको तेललाई 'कड लिभर आयल' (Cod liver oil) को विकल्पका रूपमा बजारीकरण गर्ने।

५०. गाउँमै साना प्रशोधन उद्योग: गाउँका महिला तथा युवालाई कृषि विज्ञान केन्द्रहरूमार्फत तालिम दिई गाउँमै साना ग्रेडिङ र प्याकेजिङ उद्योग खोलेर वैदेशिक रोजगार र बसाइँसराइ रोक्ने

इस ब्लॉग से लोकप्रिय पोस्ट

कौशी खेती प्रविधि किन र कसरी ( How and Why Kaushi Kheti in Cities?)

तरकारी उत्पादनमा विज्ञानले के भन्छ? (What a science say growing vegetable?)

कलमीभित्र छिपेको रहश्य (Science of Grafting of two pieces of the tissues)